News

४ दिनमा १० करोड ग्रस कलेक्सन गर्ने कबड्डी–४ पहिलो चलचित्र,नायिका विवादले कति भयो घाटा ?

काठमाडौं । कबड्डी–४ ले पाँच दिनमा १२ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । यो हालसम्मकै छोटो समयमा भएको धेरै ग्रस कलेक्सन हो ।

ओपनिङ डेज हाउसफुल व्यापार गरेको चलचित्रले चार दिनमै १० करोडको आँकडा पार गरेको हो । चार दिनमा १० करोड ग्रस कलेक्सन गर्ने कबड्डी–४ नेपालमा नै पहिलो चलचित्र हो ।

“चलचित्रले अहिले पनि उत्साहजनक रूपमा व्यापार गरिरहेको छ,” वितरक गोविन्द शाही भन्छन् ।

यो चलचित्रले क्यूएफएक्स चेनमा मात्रै ९८ शो पाएको थियो । यसअघि, सबैभन्दा धेरै शो पाउने चलचित्र ‘केजीएफ च्याप्टर–२’ थियो । जसले ८० शो पाएको थियो ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बुद्दि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका छ ।

लामो समुदायको प्रदर्शनले चलचित्रलाई ठूलो असर गर्‍यो । मंगलबार केएल टावर र बालाजुका हलबाहिर भएको विरोध प्रदर्शनले शो ‘क्यान्सिल’ भयो ।

उक्त प्रदर्शनले चलचित्र निर्माण पक्षलाई कति क्षति भयो ? चलचित्र वितरकले खासै ठूलो असर नगरेको दाबी गरे पनि ‘ब्याड टच’ घटनाले निर्माण पक्षलाई ठूलै घाटा लागेको स्रोतको भनाइ छ ।

हाउसफुल व्यापार भइरहेका बेला भएको यो घटनाको मारमा निर्माण पक्ष परेको स्रोत बताउँछ ।

“न्यूनतम एक करोड रुपैयाँ ग्रस कलेक्सन विरोधका कारण शो क्यान्सिल हुँदा हुन सकेन । शो क्यान्सिल हुनु र सिनेमा प्रदर्शन गर्न दिँदैनौँ भन्दै हलबाहिर प्रदर्शन हुँदा डरले पनि कति दर्शक आउनु भएन,” स्रोत भन्छ, “यो घटनाले एक करोड कलेक्सन कम हुनु भनेको निर्मातालाई हातमा पर्ने करिब ४५ लाख रुपैयाँ घट्नु हो ।”

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments