ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर( अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक फिल्म ‘गुन्यु चोलो–द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए। दुवै फिल्मको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ लाई छनोट गरिएको हो।

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्ममा मिलन चाम्सको निर्देशन छ । फिल्ममा एञ्जिला आफैं मुख्य भूमिकामा छिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन्।

फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top