
टेलिभिजन श्रृंखलामा ‘बल्छी धुर्बे’को भूमिकाबाट चर्चामा आएका मरिचमान श्रेष्ठले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म ‘गोबर गणेश’ मा कलाकार अनुबन्धनको क्रम तीव्र रुपमा जारी छ।
फिल्मको प्रमुख महिला पात्रको रूपमा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन्। निर्माता श्रेष्ठ र सिवाकोटीबीच बिहीबार लिखित सम्झौता भएको हो। बल्छी धुर्बेले वर्षालाई लिड हिरोइनको रूपमा अनुबन्धन गरिएको जानकारी दिएका छन्।
यसअघि नै फिल्ममा ‘होस्टेल ३’ मार्फत चर्चामा आएका पदम तामाङ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजना घिमिरे ‘पुकु’ अनुबन्धित भइसकेका छन्।
‘मेरी बास्सै’ जस्ता लोकप्रिय टेलिभिजन कार्यक्रमहरूबाट दर्शकको मन जितेका मरिचमान श्रेष्ठले अब ‘गोबर गणेश’ मार्फत ठूलो पर्दामा आफ्नो निर्देशन यात्रा आरम्भ गर्न लागेका हुन्।
फिल्मको निर्माण कार्य मरिचमानकै ब्यानर बल्छी धुर्बे फिल्म्स प्रालि मार्फत हुँदैछ। निर्माता श्रेष्ठका अनुसार फिल्मको छायांकन आउँदो भदौको पहिलो सातादेखि सुरु हुने तयारी छ। यद्यपि फिल्मको प्रदर्शन मिति फागुन १ गते भनिए पनि, परिस्थिति हेरेर त्यो मिति अघि सर्न सक्ने सम्भावना रहेको उनले बताए।
फिल्मको प्रदर्शन मिति बारे अहिलेसम्म औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन।