
नेपाली फिल्म उद्योगमा विगत केही वर्षयता देखिएको एउटा स्थायी समस्या हो—कथाको अभाव र कलाकारको बढ्दो पारिश्रमिक। वर्षमा पाँच दर्जनभन्दा बढी फिल्म निर्माण भइरहे पनि नयाँ र मौलिक कथाको खडेरीले बजारमा एकरुपता र दोहोरिएकोपन देखिएको छ।
नयाँ निर्माता, निर्देशक, वा कलाकार आए पनि अधिकांश फिल्महरू उही २–४ वटा कथाको घेरामा सीमित देखिन्छन्। रचनात्मकता र मौलिकताको अभावबीच अबको चर्चाको केन्द्र भने कलाकारहरूको चर्को पारिश्रमिक बन्न थालेको छ।
हालै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले फिल्म माग्ने राजा मा ६१ लाख पारिश्रमिक लिएको निर्माताले सार्वजनिक गरेपछि यस विषयमा बहस फेरि चुलिएको छ। उनको अभिनय र भूमिकाको भन्दा बढी पारिश्रमिककै चर्चा भएको छ। अहिले उनी अन्य फिल्ममा पनि ४०–५० लाखभन्दा कममा काम नगर्ने बताइएको छ।
यस्तै, नायक दयाहाङ राईले ६० लाखसम्म पारिश्रमिक लिने चर्चा चलिरहेको छ। उनको अभिनयभन्दा बढी अब पारिश्रमिककै चर्चा हुने गरेको छ। अर्का चर्चित नायक अनमोल केसीको करिअर पनि लामो समयदेखि यस्तै चर्चा घेरामा सीमित छ। ५० लाख पारिश्रमिक लिने चर्चा गर्दै आएका अनमोलको हालको अभिनयभन्दा पनि उनी लिने पारिश्रमिक बढी चर्चित बनिरहेको छ।
नायक समीर भट्टले बलिदान फिल्मका लागि ५१ लाख लिएको र अहिले १ करोडसम्म पारिश्रमिकमा पनि बाहिरी व्यानरको फिल्म नखेल्ने भनाइले पनि फिल्म निर्माण क्षेत्रलाई सोच्न बाध्य बनाएको छ।
यसैबीच, प्रदीप खड्का, धिरज मगर, पल शाह र प्रकाश सपुत जस्ता लोकप्रिय नायकहरूको पारिश्रमिक पनि २० देखि ४० लाखको सीमामा रहेको चर्चा मिडिया र सामाजिक सञ्जालमा चल्दै आएको छ। कतिपय अवस्थामा यस्ता कुराहरू आफैं कलाकार वा निर्माताबाटै बाहिर आउने गरेको पाइन्छ।
फिल्मको गुणस्तर र आम्दानीले यस्ता महँगा अनुबन्धलाई न्याय गर्न नसक्दा निर्माता चिन्तित छन्। उनीहरू भन्छन्—”नाम चलेका कलाकारलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने सोचले लगानी त हुन्छ, तर आम्दानी नहुँदा घाटा बेहोरिरहेका छौँ।”
अबको चुनौती भनेकै नेपाली फिल्मले कथामा मौलिकता ल्याएर कलाकारको नामभन्दा पनि समग्र फिल्मको गुणस्तरलाई प्राथमिकता दिन सक्ने कि सक्दैन भन्नेमा छ। कलाकार महँगो हुँदा फिल्म बनाउने वातावरण नै सङ्कटमा पर्ने अवस्था निर्माण भएको छ।
फिल्म क्षेत्रका जानकारहरू भन्छन्—”अब कलाकारको पारिश्रमिकभन्दा पनि कथामा लगानी गर्नुपर्छ, नत्र ‘स्टार सिस्टम’ले नेपाली फिल्म उद्योगलाई अझ गम्भीर संकटतर्फ लैजान सक्छ।”